साह सोनारको हत्या प्रकरणमा संलग्न एक जना भारतीय पक्राउ
बारा प्रहरीले वीरेन्द्र साह सोनारको हत्या प्रकरणमा संलग्न एक जना भारतीयलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको विशेष टोलीले हत्या भएको एक सातापछि मुख्य व्यक्तिलाई पक्राउ गरेको जनाएको हो ।
प्रहरीको टोलीले सोनार हत्याका मुख्य आरोपित भारतीय विजय गुप्तालाई पक्राउ गरेको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए । उनका अनुसार बुधबार विहान वीरगन्जको नाका इनर्वाबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका गुप्ता रक्सौल निवासी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तर उनीसंग नेपाली नागरिकता पनि रहेको बारा प्रहरी स्रोतले जानकारी दिएको छ । विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको बारा प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका गुप्तालाई प्रहरीले थप सोधपुछ गरिरहेकोले अन्य विवरण आउन बाँकी रहेको बारा प्रहरी बताउँछ । उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरी प्रवक्ता सापकोटाले बताए ।
सोधपुछ सकिएपछि आजै पत्रकार सम्मेलन गरेर गुप्तालाई सार्वजनिक तयारी रहेको प्रहरीले जानकारी दिएको छ । गएको १ कातिकमा बाराको गण्डक नहरमा सोनार मृत अवस्थामा फेला परेका थिए । वीरगन्जबाट बेपत्ता भएको चार दिन पछाडि सोनार बारामा मृत अवस्थामा फेला परेका थिए ।