प्रधानमन्त्री केपी शर्मा ओलीले गरे त्रिविको नीति तथा कार्यक्रममा हस्ताक्षर
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको नीति तथा कार्यक्रममा हस्ताक्षर गरेका छन् । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति ओलीले हस्ताक्षर गरेका हुन् ।
हिजो (मङ्गलवार) उपकुलपति प्राडा केशरजंग बराल लगायतका त्रिविका पदाधिकारीहरूले प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओलीको हस्ताक्षर गराएका हुन् ।
त्रिविका रजिष्ट्रार प्राडा केदार रिजालले मङ्गलवार प्रधानमन्त्रीले बजेटसँगै नीति तथा कार्यक्रममा हस्ताक्षर गरेको बताए । यसअघि त्रिविका अधिकारीहरूले ओलीले नीति तथा कार्यक्रम रोकेको बताएका थिए । साउन १५ गते त्रिविको सिनेट बसेको थियो । उक्त सिनेटमा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित भएको थियो । तर, कार्यव्यस्तता देखाएर ओली नीति तथा कार्यक्रममा छलफल नै नगरी निस्किएका थिए ।
आफ्नो कार्यव्यस्तता देखाउँदै ओलीले नीति तथा कार्यक्रम पढ्न रोकेका थिए । त्यसपछि उनले शिक्षामन्त्री विद्या भट्टराईलाई अध्यक्षताको जिम्मेवारी दिएर उनी बाहिरिएका थिए । शिक्षामन्त्रीको अध्यक्षतामा भएको छलफलपछि नीति तथा कार्यक्रम समेत पारित भएको थियो ।