नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले गरिन् जग्गा कित्ता काटमा रोक लगाउन आग्रह
नेकपा एमालेकी सांसद सरस्वती सुब्बाले जग्गा कित्ताकाट रोक्न भूमि सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई आग्रह गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै सांसद सुब्बाले जग्गा कित्ताकाट नरोक्ने हो भने र स्थानीय तहले जमिनको ९ १० वटा तह नछुटाउने हो भने ५–१० वर्षमा खाली जग्गा पाउन कठिन हुने बताइन् ।
उनले मेचीदेखि महाकालीसम्म प्रत्येक १०–१० वर्षमा गर्नुपर्ने जग्गाको नापी अहिलेसम्म हुन नसकेको बताउँदै यदि नापी नहुने हो भने अहिलेसम्म जोगाएर राखेका सार्वजनिक जग्गा बचाउन कठिन हुने उल्लेख गरिन् ।
यस्तै सांसद सुब्बाले ७७ वटै जिल्लामा सुकुम्वासी समस्या समाधान आयोग बनाउन हतार नगर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई आग्रह गरिन् ।
उनले भनिन, ‘जहाँ बढी सुकुम्वासी समस्या छ ती ठाउँमा मात्रै आयोग बनाऊँ । आवश्यक नपरेको जिल्लामा आयोग बनाउन आवश्यक छैन । सहरी क्षेत्रमा उपत्यकामा आयोग बनाएर काम छैन ।’
यस्तै उनले लुम्बिनी र कोशी प्रदेशमा मोही बाँडफाँटको समस्या रहेको बताइन् । साथै रसुवा लगायतका क्षेत्रमा बिर्ता उन्मुलन भएपनि त्यहाँका जनताले समस्या भोगिरहेको उनले उल्लेख गरिन् । यस्तै उनले गुठी विधेयक सरकारले कहिले ल्याउँछ भन्दै प्रश्न गरिन् । स्वर्गद्वारीको गुठीको विषयमा के गर्ने यस बारेमा सरकारले आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिइन् ।