अमेरिकाको फ्लोरिडामा भारी वर्षाका कारण आपतकाल घोषणा
एजेन्सी । अमेरिकाको फ्लोरिडामा लगातार भारी वर्षा भएपछि आपतकाल घोषणा गरिएको छ।
राज्यका गभर्नर रोन डेसेन्टिसले दक्षिण फ्लोरिडाका ब्रोवार्ड, कोलियर, ली, मियामी–डेड र सारासोटासहित केही काउन्टीमा आपतकाल घोषणा गरेका हुन्। मियामीको राष्ट्रिय मौसम सेवाले हल्यान्डेल, हलिउडसहित ब्रोवार्ड, मियामी(डेड काउन्टीका केही भागमा अझै पनि ज्यान लिने बाढीले घर, कम्पनी र सडकहरूलाई असर गरिरहेको बताएको छ।
ब्रोवार्ड र मियामी–डेड दुवै काउन्टीमा ७ इञ्चसम्म वर्षा भएको हो । फोर्ट लोडरडेल-हलिउड क्षेत्रमा वर्षाको दर बुधबार १० सेन्टिमिटरसम्म पुगेको छ। सारासोटामा पनि करिब १० सेन्टिमिटर वर्षा भएको हो ।
अमेरिकामा सबै भन्दा लामो तटरेखा भएको फ्लोरिडा राज्य, मेक्सिको खाडी एटलान्टिक महासागर र फ्लोरिडा स्ट्रेटबीचको प्रायद्वीप हो। आफ्नो भौगोलिक स्थितिका कारण यस राज्यमा प्रत्येक वर्ष वर्षा र तुफान आउँछ।
सन् २०२३ अगस्ट २९ मा तुफान इडालियाको सम्पर्कमा आउदा २ जनाको मृत्यु भएको थियो।