भारतमा एनडीएलाई बहुमत, नरेन्द्र मोदी तेस्रो पटक पनि सरकारमा
एजेन्सी । भारतमा लोकसभा चुनावको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ ।
५ सय ४२ सिटको लागि भएको लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४० सिटमा जित हासिल गरेको हो। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडिएलाई बहुमत प्राप्त भएको छ। सोही गठबन्धनले २ सय ९२ सिट जितेको भारतको निर्वाचन आयोगले जनाएको हो । भाजपाका एक उम्मेदवार भने यस अघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।
त्यसैगरी एनडिएको विपक्षी भारतीय राष्ट्रिय विकास समावेशी गठबन्धन (इन्डिया) ले २ सय २४ सिटमा जित हासिल गरेको छ। कांग्रेस ९९ सिट, समाजवादी पार्टी ३७ सिट, द्रविड़ मुन्नेत्र कड़गम (डिएमके) २२ सिट, तृणमूल कांग्रेस २९ सिट, शिवसेना (उद्धव ठाकरे) ९ सिट र एनसीपी (सपा) ले ८ सिटमा जित हासिल गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक पनि वनारसबाट चुनाव जित्नुभएको हो। कांग्रेस नेता राहुल गान्धीले राय–बरेली र वायनाडमा जित निकालेका छन्।
उत्तर प्रदेशमा भाजपालाई ठूलो धक्का लागेको हो। उसले अघिल्लो चुनावमा ६४ सिट जिजेकोमा यो पटक ३३ सिटमा समेटिएको छ। समाजवादी पार्टीले यहाँ ३७ सिट ल्याएको हो। ६ हप्ताको अवधिमा ७ चरणमा यहि जुन १ तारिखमा सम्पन्न लोकसभाको चुनावमा करिब ६४ करोड २० लाख जनताले मतदान गरेका थिए।
प्रधानमन्त्री मोदीले भाजपा नेतृत्वको एनडीएले लगातार तेस्रो सरकार बनाउने बताउनुभएको छ। लोकसभा चुनावको नतिजापछि यहाँ भाजपा केन्द्रीय कार्यालयमा पार्टी कार्यकर्ता र नेताहरूलाई प्रधानमन्त्री मोदीले जनताले भाजपा र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई विश्वास गरेको बताउनुभएको हो ।
उहाँले सन् १९६२ पछि पहिलो पटक २ कार्यकाल पूरा गर्ने सरकारले लगातार तेस्रो कार्यकाल पाएको बताउनुभएको छ । प्रधानमन्त्री मोदीले दशकपछि ‘नयाँ इतिहास’ रचिएको धारणा राख्नुभएको हो ।