संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट इजरायल-गाजामा युद्धविराम गर्ने प्रस्ताव अत्याधिक बहुमतले पारित
एजेन्सी । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदबाट सोमबार गाजा क्षेत्रमा युद्धविराम गर्ने अमेरिकाको प्रस्ताव अत्याधिक बहुमतले पारित भएको छ ।
सुरक्षा परिषदमा रहेका १५ मध्ये १४ जना सदस्य राष्ट्रले युद्धविराम गर्ने पक्षमा मतदान गरेका हुन् । रुस भने मतदानमा सहभागी भएन । प्रस्तावमा ‘पूर्ण र पूर्ण युद्धविराम’, हमासद्वारा बन्धकहरूको रिहाई, मृत बन्धकहरूको अवशेष फिर्ता र प्यालेस्टिनी कैदीहरूको आदानप्रदानका लागि शर्तहरू राखिएका छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार गाजामा ३ चरणमा युद्धविराम लागू गर्ने उल्लेख गरिएको हो । सोही शर्तहरु कतार मार्फत हमास समक्ष पठाइएको छ । इजरायलले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको र हमासलाई पनि यसमा सहमत हुन आग्रह गरेको प्रस्तावमा उल्लेख गरिएको हो ।
पहिलो चरणमा बन्धक बनाइएकालाई रिहा गर्ने, ज्यान गुमाइसकेको शव फर्काउने, इजरायली सेना गाजा क्षेत्रबाट हट्न शुरु गर्ने र विस्थापित भएकाहरुलाई घर फर्किन दिने प्रस्ताव रहेको छ । यसैगरी, दोस्रो चरणमा कोही बन्धक बाँकी भए तिनलाई रिहा गर्ने र इजरायली सेना गाजाबाट पूर्णरुपमा हट्ने तथा तेस्रो चरणमा गाजामा पुनर्निर्माणको काम शुरु गर्ने प्रस्तावमा उल्लेख गरिएको हो ।
गत अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा एक्कासि आक्रमण गर्दा करिब १ हजार २ सय जना मानिस मारिएका थिए । त्यस्तै, २ सय ५० जना भन्दा बढी मानिसको अपहरण भएको थियो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायलले आक्रमणको जवाफ दिएपछि गाजामा मृत्यु हुनेको संख्या ३७ हजार जना नाघेको जनाएको छ।