इजरायलले मध्य गाजामा आक्रमण गर्दा ५५ जना प्यालेस्टाइनी नागरिकको मृत्यु, दर्जनौं घाइते
एजेन्सी । इजरायलले मध्य गाजा पट्टीको नुसिरात शिविर र केही अन्य क्षेत्रमा शनिबार हवाई आक्रमण गर्दा ५५ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ ।
सोही आक्रमणमा परी दर्जनौं प्यालेस्टाइनी नागरिकको घाइते भएका हुन् । मध्य गाजाको देइर अल–बालाहस्थित अल–अक्सा अस्पतालका निर्देशक खलिल अल–डाक्रानले नुसिरात शिविर र देर अल सहरमा इजरायली बमबारीका कारण ठूलो संख्यामा घाइते भएका प्यालेस्टाइनीकोलाई अस्पताल पठाइएको बताएका छन् । जसमध्ये केहीको मृत्यु भएको पुष्टि भएको हो ।
प्यालेस्टाइनी प्रत्यक्षदर्शीहरूले इजरायली विमानले तीव्र हवाई आक्रमणसहित उक्त क्षेत्रलाई निशाना बनाएको र यसका कारण स्थानीय नागरिकको सुरक्षाका लागि केही घाइतेहरूलाई एम्बुलेन्स सेवाहरू समयमै पुर्याउन नसकिएको बताएका थिए ।
यसैबीच, हमास नियन्त्रित गाजाको प्यालेटास्नी सरकारी सञ्चार माध्यमका अनुसार नुसिरात शिविरमा भएको आक्रमणमा परी करिब २ सय १० जनाको मृत्यु भएको जनाएको छ । इजरायली सेना, पुलिस र गुप्तचर निकाय शिन बेटले एक संयुक्त विज्ञप्ति जारी गर्दै हाम्रो सेनाले यस क्षेत्रमा आतंकवादी संरचनामा आक्रमण गरिरहेको र ४ जना इजरायली बन्धकहरूलाई मुक्त गरेको बताएका हुन् ।
शिन बेट लडाकू र विशेष प्रहरी इकाईले नुसिरातको मुटुमा रहेको २ वटा छुट्टाछुट्टै क्षेत्रबाट अपहरणमा परेका व्यक्तिहरूलाई उद्धार गरेको छ । बन्धकहरूको स्वास्थ्य अवस्था राम्रो रहेको र उनीहरूलाई इजरायलको तेल हसोमर अस्पतालमा चिकित्सा परीक्षणका लागि सारिएको जनाइएको हो ।