तनहुँलाई खेलकुदको हवका रूपमा विकास गर्नुपर्छ: उपसभापति वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले तनहुँलाई खेलकुदको हवका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
तनहुँ जिल्ला भलिबल संघले शनिबार आयोजना गरेको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालकै मध्य भागमा अवस्थित तनहुँमा खेलकुदको पर्याप्त सम्भावना रहेकाले त्यसलाई सम्बोधन गर्नका लागि योजनाबद्ध ढंगले लाग्नुपर्ने उहाँले बताउनुभयो।
आगामी आर्थिक वर्षको बजेटमा खेलकुदतर्फ केही बजेट वृद्धि भएको उहाँले बताउनुभएको छ । नेपालमा खेलकुद कूटनीतिलाई अगाडि बढाउनुपर्ने अवस्था समेत उहाँले औंल्याउनुभएको हो। नेपालमा केही भएन भन्ने युवाको माझ नैराश्यमात्रै रहेकाले त्यस्तो भाष्यलाई चिर्न अब कुरा भन्दा काममा जोड दिनुपर्ने उपसभापति वाग्लेको भनाइ थियो।
शनिबार घिरिङ गाउँपालिका र शुक्लागण्डकी नगरपालिकाबीच भएको फाइनल खेल हुरी र पानीले स्थगित भएको छ।