भारतमा बाढीका कारण १८ जनाको मृत्यु, ६ लाख बढी मानिस प्रभावित
एजेन्सी । भारतको उत्तरपूर्वी राज्य आसममा आएको बाढीका कारण १८ जनाको मृत्यु भएको छ ।
बाढीका कारण ६ लाख भन्दा बढी मानिसहरू प्रभावित भएको मंगलबार अधिकारीहरूले बताएका हुन् । बाढीले १० जिल्लाहरू होजाई, करिमगञ्ज, मोरिगाँव, नगांव, दिमा–हसाओ, कछार, डिब्रुगढ, हैलाकान्डी, गोलाघाट र कार्बी आङ्लोङ पश्चिममा असर पारेको छ ।
आसममा १० जिल्लाहरूमा ६ लाख २५ हजार ३ सय १८ जना मानिसहरु बाढीबाट प्रवावित भएको एक अधिकारीले बताएका हुन् । विगत २४ घण्टामा थप ४ जनाको मृत्यु भएसँगै बाढीबाट मृत्यु हुनेका संख्या १८ जना पुगेको छ । यसै गरी कछार जिल्लामा ४ जना बेपत्ता भएको जनाइएको हो ।
अधिकारीहरूले हाल ५ सय ७७ गाउँहरू डुबानमा परेको बताउदै प्रभावित जिल्लाहरूमा करिब ६ हजार २३ हेक्टर बाली क्षेत्र क्षतिग्रस्त भएको उल्लेख गरेका छन् । आसम राज्य विपद व्यवस्थापन प्राधिकरण (एएसडीएमए) का अनुसार स्थानीय सरकारले प्रभावित क्षेत्रमा १ सय ९१ राहत शिविर र १ सय ८ वटा वितरण केन्द्र खोलेको हो ।
प्रभावित क्षेत्रमा रेल ट्रयाकमा क्षति पुगेको कारण केही रेलसेवाहरू पनि रद्द गरिएको अधिकारीहरूले बताएका छन् । यसैबीच, बाढी प्रभावित जिल्लाहरूमा उद्धार तथा राहतका लागि राष्ट्रिय विपद प्रतिक्रिया बल (एनडीआरएफ) र राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) का कर्मचारीहरू तैनाथ गरिएको हो ।
गत महिना पश्चिम बंगाल र बंगलादेशको तटमा आएको चक्रवात, भारी वर्षापछि आसम र मणिपुरका राज्यहरूमा बाढी आएको थियो ।