संघीय संसदका दुवै सदनको बैठकमा आज पनि बजेटमाथि छलफल जारी
काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक मंगलबार पनि बस्ने भएको छ ।
प्रतिनिधि सभाको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बिहान ११ बजे बस्ने भएको हो । सोही बैठकमा राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहने भएको छ ।
२०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको हो । उहाँ पूर्वश्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुनुहुन्थ्यो ।
त्यस्तै, २०४८ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।
साथै २०५८ सालमा कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति शोकप्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।
त्यस्तै, राष्ट्रिय सभाको बैठक पनि मंगलबार दिउँसो सवाँ १ बजे बस्ने भएको छ । बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहने कार्यसूची रहेको हो ।अर्थमन्त्री वर्षमान पुनले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिने संसद सचिवालयले जनाएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभाका पूर्वसदस्य खगेन्द्र रेग्मी, संविधानसभाका पूर्वसदस्य सूर्यमान गुरुङ र प्रतिनिधि सभाका पूर्वसदस्य शैयद मेहराज अहमद शाहको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको हो ।