पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, पहाडी क्षेत्रमा पहिरो
मध्य पेरुमा शुक्रबार बिहान ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट हालसम्म मानवीय तथा ठूलो भौतिक क्षति भएको विवरण प्राप्त भएको छैन । तर, केही पहाडी क्षेत्रमा पहिरो जानुका साथै चट्टान खसेको खबर छ ।
पेरुको भूभौतिक संस्थानका अनुसार स्थानीय समयअनुसार बिहान ७ बजेर ९ मिनेटमा जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिम केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । १२९ किलोमिटर गहिराइमा गएको भूकम्पको धक्का राजधानी लिमासहित हुआनुको र कालाओ क्षेत्रमा समेत महसुस गरिएको थियो ।
भूकम्पपछि स्थानीय बासिन्दा घर तथा भवनबाट बाहिर निस्केर सडकमा भेला भएका थिए । राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्रले प्रभावित तथा जोखिमयुक्त क्षेत्रमा निगरानी जारी राखेको जनाएको छ ।
पेरु भूकम्पीय जोखिम उच्च रहेको प्रशान्त महासागरीय क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा पर्दछ । यहाँ हरेक वर्ष कम्तीमा ४०० भूकम्प जाने गरेको बताइएको छ ।
यसअघि गत जुलाईमा जुनिन क्षेत्रमा ५.१ म्याग्निच्युडको भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए । उक्त भूकम्पमा ५२ घर पूर्ण रूपमा ध्वस्त भएका थिए ।