प्रतिनिधिसभाको बैठक आज बस्दै, गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्दै
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आइतबार बिहान बस्ने भएको छ ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार बिहान ११ बजे बस्ने भएको हो । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
त्यस्तै, सभामुख घिमिरेले प्रतिनिभिसभा नियमावली २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्नुहुने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबल गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० पेश गर्नुहुने भएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्योदेश, २०८१’ पेश गर्नुहुने भएको छ।
आइतबारको बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’लाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो ।