अफगानिस्तानमा ४० हजार बालबालिका घरबार विहीन
एजेन्सी । उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा गत शुक्रबारको बाढीका कारण करिब ४० हजार बालबालिकाले आफ्नो घर गुमाएको परोपकारी संस्था ‘सेभ द चिल्ड्रेन’ले जनाएको छ ।
बालबालिकाले आफ्नो घर मात्र नभई विद्यालय र खेल्ने ठाउँका साथै आफन्तजन समेत सबै गुमाएका अफगानिस्तानस्थित उक्त संस्थाका निर्देशक अरशद मलिकले बताएका हुन्। विश्व खाद्य कार्यक्रमको अफगानिस्तानस्थित कार्यालय र स्थानीय अफगान अधिकारीका अनुसार देशभर बाढीबाट ३ सय ३० जना भन्दा बढीको मृत्यु भएको छ । बाढीमा बाघलान, तखार, बदख्सान र घोर प्रान्तमा धेरैको मृत्यु भएको हो ।
अफगानिस्तानका अधिकारीहरूले बाढीबाट मृत्यु हुनेको संख्या बढ्न सक्ने तथा बालबालिका संक्रामक रोगको सिकार हुन सक्ने चेतावनी दिएका छन् । विश्व स्वास्थ्य संगठनले सोमबार बाढी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम अनुगमन गर्न ८ वटा आपतकालीन प्रतिकार्य टोली परिचालन गरेको हो ।