दिल्लीका मुख्यमन्त्री केजरीवालको अन्तरिम जमानतमा सर्वोच्चले आज फैसला सुनाउँदै
एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको अन्तरिम जमानतको रिटमा सर्वोच्च अदालतले शुक्रबार फैसला सुनाउने भएको छ ।
बिहीबार सर्वोच्च अदालतमा बहस सकिएपछि न्यायाधीश सञ्जीव खन्नाले शुक्रबार फैसला सुनाउने बताउनुभएको हो। गत मार्च २१ तारिखमा प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा रहेका केजरीवाललाई पटक पटक म्याट थप गर्दै हिरासतमा राखिएको छ । तल्लो अदालत र उच्च अदालतले अन्तरिम जमानत दिन अस्वीकार गरेपछि केजरीवाल सर्वोच्च अदालत गएका थिए ।
बिहीबारको बहसमा ईडीले सर्वोच्च केजरीवालको अन्तरिम जमानत याचिकाको विरोध गरेको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन् । ईडीले चुनाव प्रचारका लागि कुनै पनि नेतालाई अन्तरिम जमानत दिन नहुने बताएको हो।
केजरीवाललाई दिल्लीको मदिरा नीतिसँग सम्बन्धित कथित घोटाला प्रकरणमा मार्च २१ तारिखमा प्रहरीले पक्राउ गरेको थियो । मंगलबार दिल्ली अदालतले केजरीवालको न्यायिक हिरासतलाई मे २० तारिखसम्म बढाएको थियो ।