इजरायलद्वारा अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध
एजेन्सी । इजरायलले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको छ ।
गत महिना इजरायलको संसदले विदेशी टिभी नेटवर्कहरू बन्द गर्ने अधिकार दिएको थियो । त्यसैले इजरायली मन्त्रिपरिषदको बैठकले अल जजिरा नेटवर्कमाथि प्रतिबन्ध लगाउने प्रस्तावलाई अनुमोदन गरेको हो ।
इजरायली सरकारले लामो समयदेखि अल जजिरा च्यानललाई इजरायलविरुद्ध समाचार सम्प्रेषण गरी पक्षपात गरेको आरोप लगाउँदै आएको छ । अल जजिरा च्यानल कतार सरकारको स्वामित्वमा रहेको नेटवर्क हो ।
गत अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि अल जजिरा च्यानलमा दिनहुँ जसो इजरायलको आलोचनाका समाचारहरु सम्प्रेषण गरेको भन्दै इजरायलले विरोध जनाउँदै आएकोमा अहिले प्रतिबन्ध लगाएको हो ।
इजरायली प्रधानमन्त्री बेज्जामिन नेतान्याहुले यस च्यानललाई आतंकवादीद्वारा नियन्त्रित च्यानल भनेर व्याख्या गर्दै यसमाथि प्रतिबन्ध लगाउन पाउँदा आफूलाई आत्मसन्तुष्टि मिलेको प्रतिक्रिया दिनुभएको छ ।