जसपाबाट विभाजित राई नेतृत्वको समूह सत्ता गठबन्धनमा नै बस्ने
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी(जसपा)लाई विभाजन गर्ने निर्णय गरेको अशोक राई नेतृत्वको समूहले अहिलेकै सरकारलाई निरन्तरता दिने भएको छ ।
यादव नेतृत्वको जसपा छोडेर आइतबार जनता समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका सांसद र नेताहरूले अहिलेको नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा नै बस्ने बताएका हुन्। जसपा नामको नयाँ पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएपछि नेता राजेन्द्र श्रेष्ठले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई ऐतिहासिक भन्दै आफूहरू यसमै रहने बताउनुभएको हो ।
नेता श्रेष्ठले भन्नुभयो,- 'जसपा नामको नयाँ हिजोको विधान र नीति तथा कार्यक्रमकै निरन्तरता हो । ‘राजनीतिक दलसम्बन्धी ऐन र नियमावली २०७८ अनुसार विभाजन गरिएको छ । दल विभाजनसम्बन्धी नियमावली २०७८ भदौमा राजपत्रमा प्रकाशित भएको यहि आधारमा हामीसँग प्रतिनिधिसभाका १२ मध्ये ७ जना बहुमत सांसद छन् । कानूनअनुसार हामीले बहुसंख्यक प्रतिनिधिसभाका सांसदहरूसहित जसपालाई नयाँ दलका रुपमा दर्ता गराउँदैछौं ।’
अस्थिरताको चर्चा भइरहेको बताउदै उहाँले यस्तो बेलामा सरकार छाडेर नयाँ समीकरणको पक्षमा नरहेको बताउनुभयो । उता वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले पनि अहिले सरकार छाड्ने पक्षमा नरहेको बताउनुभएको छ । यहि सरकारमा निरन्तर रहेर नयाँ शक्ति निर्माणमा सक्रिय हुने समेत उहाँले बताउनुभयो ।