राष्ट्रियसभाको बैठक पनि आज बस्दै, सञ्चारमन्त्री शर्माले मिडिया काउन्सिल विधेयक पेश गर्दै
काठमाडौं । राष्ट्रिय सभाको बैठक आइतबार दिउँसो बस्ने भएको छ ।
सोही बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आइतबार दिउँसो सवाँ १ बजे बस्ने भएको हो । आइतबारको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, अध्यक्ष दाहालले विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नुहुने भएको हो ।
यसैगरी, अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यहरुको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको पनि व्यहोरा पढर सुनाउनु हुने भएको छ । सोही बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले ‘लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ सभा समक्ष पेश गर्नुहुने भएको हो ।
सञ्चारमन्त्री तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक, २०८०’ सभा समक्ष पेश गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।