भारतका ६ राज्यमा आज लोकसभाको छैठौं चरणको चुनावमा मतदान शुरू
काठमाडौं । भारतमा ७ चरणमा हुन लागेको लोकसभाको छैठौं चरणको चुनावमा शनिबार मतदान कार्य शुरु भएको छ ।
५ चरणको चुनाव सम्पन्न भएको भारतमा शनिबार दिल्लीसहित ६ राज्यमा मतदान शुरु भएको हो ।शनिबार छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि नयाँ दिल्ली, बिहार, हरियाणा, झारखण्ड, ओडिशा, उत्तर प्रदेश र पश्चिम बंगालका ५७ सिटमा मतदान शुरु भएको छ ।
यसअघि भारतमा पहिलो चरणमा २१ राज्यका १ सय २ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९, तेस्रो चरणमा १२ राज्यको ९४, चौथो चरणमा १० राज्यका ९६ सिट र ५ चरणमा ८ राज्यका ४९ सिटका लागि मतदान भएको थियो।
गत अप्रिल १९, २६, मे ७, १३ र २० तारिखमा गरेर भारतमा यसअघि ५ चरणको चुनाव सकिएको हो। शनिबार जारी छैठौं चरणमा दिल्लीका ७, उत्तर प्रदेशका १४, बिहारका ८, पश्चिम बंगालका ८, हरियाणाका १०, ओडिशाका ६, झारखण्डका ४ र जम्मु–कश्मिरको एक सिटमा मतदान शुरु भएको छ ।
अन्तिम तथा सातौं चरणको मतदान जुन १ तारिखमा हुने भएको हो । बिहार, हिमाचल, झारखण्ड, ओडिशा, पञ्जाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुने भएको छ।
पहिलो चरणदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एक साथ जुन ४ तारिखदेखि मतगणना शुरु हुने भएको हो ।