गण्डकी प्रदेश सरकारविरूद्धको रिटमा आज पनि सुनुवाई हुँदै
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायरको रिटमा बुधबार पनि सुनुवाई हुने भएको छ ।
मंगलबार न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलेको संयुक्त इजलासमा सोही रिटको सुनुवाई नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो। नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र पाण्डेले गत वैशाख २५ गते मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतमा वैधानिकताको प्रश्न उठाउदै वैशाख २७ गते रिट दायर गर्नुभएको थियो ।
वैशाख २८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले सोही रिटमा प्रारम्भिक सुनुवाई गर्दै अर्को सुनुवाई नसकिएसम्म दीर्घकालीन असर गर्ने कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । नेता पाण्डेले विश्वासको मत लिने क्रममा सभामुखको दुरुपयोग हुनुका साथै कुल ६० सदस्यीय प्रदेशसभामा ३० जनालाई बहुमत सिद्ध गरिएको उल्लेख गर्नुभएको छ ।
सोही दायर रिटमा गण्डकी प्रदेशका प्रदेशप्रमुख, मुख्यमन्त्री र सभामुख लगायतलाई नेता पाण्डेले विपक्षी बनाउनुभएको हो ।