संघीय संसदका ४ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदको ४ वटा संसदीय समितिको बैठक सोमबार बस्ने भएको छ ।
सोमबार अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । अर्थ समितिको बैठक सोमबार बिहान ११ बजे सिंहदरबारस्थित अर्थ समितिको बैठक कक्षमा बस्ने भएको छ ।
बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट तर्जुमा सम्बन्धमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, नेपाल राष्ट्र बैंक, लगानी बोर्ड नेपाल र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल तथा अन्तरक्रिया कार्यक्रमको कार्यसूची रहेको हो ।
त्यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि सोमबार बिहान ११ बजे नै सिंहदरबारमा बस्ने भएको छ । सोही बैठकमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट हालसम्म भए गरेका काम तथा आगामी कार्ययोजना सम्बन्धमा छलफल हुने भएको हो ।
त्यस्तै, सोमबार दिउँसो साढे १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधनकर्तासँग छलफल गर्ने तयारी रहेको छ ।
साथै महिला तथा सामाजिक मामिला समितिको बैठक सोमबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । सोही बैठकमा अन्तर–धार्मिक सहिष्णुता सम्बन्धमा मुस्लिम आयोगले खेल्दै आएको भूमिका तथा नेपाल हज व्यवस्थापनको बारेमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।