एकीकृत समाजवादीको पोलिट ब्यूरो बैठक आज बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिट ब्यूरोको बैठक सोमबार बस्ने भएको छ ।
पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा पेश हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्नका लागि पार्टी कार्यालय आलोकनगरमा सोमबार बिहान ११ बजे बैठक बस्न लागेको हो । सोही बैठकमा पार्टीको राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रतिवेदनको मस्यौदा प्रस्तुत गरिने भएको पोलिट ब्यूरो सदस्य दिलु पन्तले बताउनुभएको छ ।
यस्तै, आइतबार सम्पन्न भएको स्थायी कमिटी बैठकका निर्णय उपर पनि छलफल हुने भएको हो । बैठकले आगामी जेठ १ र २ गते आह्वान गरिएको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने कार्यसूची अनुमोदन गर्ने भएको छ ।
एकीकृत समाजवादीको १० औं राष्ट्रिय महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने भएको हो। सोही महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनको मस्यौदामा पोलिट ब्यूरो बैठक र केन्द्रीय कमिटी बैठकले दिएको सुझावको आधारमा त्यसलाई पूर्णता दिने पोलिट ब्यूरो सदस्य पन्तले जानकारी दिनुभयो ।