उपेन्द्र यादवले राजीनामा दिएपछि अशोक राई भन्छन्: 'अब मधेश प्रदेशबाट पनि उहाँलाई बिदा गछौं'
काठमाडौं । गत फागुन २१ गते बनेको नयाँ सत्ता गठबन्धनमा मिसिएका जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव २ महिनामा नै केन्द्र सरकारबाट बिदा हुनुभएको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको वर्तमान सत्ता गठबन्धन ढालेर नेपाली कांग्रेस नेतृत्वको सरकार बनाउन भूमिका खेलेको आरोप लागेका उहाँले एकसाथ पार्टी विभाज र सत्ताबाट बहिर्गमनको पीडा खेप्नु परेको हो ।नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसँग मिलेर नयाँ सत्ता समीकरणको खेलमा लागेको आरोपको खण्डन समेत गर्न नपाई यादव पार्टी विभाजनको पीडा भोग्न बाध्य हुनुभएको छ ।
अमेरिकामा नै रहेको समयमा जसपा विभाजनको पीडा खेप्नुभएका उहाँले सोमबार संघीय सरकारबाट बिदा लिनुभएको हो । उता मधेशमा पनि यादव नेतृत्वको सरकार अल्पमतमा परिसकेको छ । जहाँबाट जसपाका सरोजकुमार यादवले सत्ताबाट हात धुने निश्चित भएको हो । उता एमालेका सरोज यादव मुख्यमन्त्रीका लागि तम्तयार भइसक्नुभएको छ ।
यसबीचमा गत आइतबार जसपा विभाजन गरेर नयाँ जसपा बनाएका अध्यक्ष अशोक राईले सोमबार अब मधेशबाट पनि यादवलाई बिदा गरिने बताउनुभएको हो। राईले जसपा नेपाललाई मधेश सरकारबाट पनि बिदा गर्नुको विकल्प नभएको बताउनुभएको छ । यादवले केन्द्र सरकारबाट बिदा लिएपछि सोमबार संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष राईले अब मधेशमा पनि जसपा नेपालले तत्काल सरकार छोडेर मार्ग प्रशस्त गर्नुपर्ने बताउनुभयो।
अध्यक्ष रोईले आफ्नै सरकारविरुद्ध षड्यन्त्र रचेपछि कहाँ हुन्छ र अल्पमतमा परिसकेकाले मधेशबाट पनि यादवले बिदा लिनुपर्ने बताउनुभएको छ । राईले यादवले छोडेको स्वास्थ्य मन्त्रालय पनि आफूहरूको भागमा आउने दावी गर्नुभयो । जसको बारेमा आफूहरु प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरिरहेको उहाँको भनाइ छ ।
मधेश प्रदेशका ५ जना भन्दा बढी प्रदेश सदस्य आफू नेतृत्वको जसपामा भएको उहाँले दावी गर्नुभयो ।