संसदीय समितिको कार्यादेशमा सत्तापक्ष र प्रतिपक्षी दल सहमति नजिक
काठमाडौं । सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तापक्ष र प्रतिपक्षी दलहरू सहमति नजिक पुगेका छन् ।
आइतबार कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठक सहमति नजिक पुगेको नेताहरू बताएका हुन् ।समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदल सदस्य कांग्रेस नेता जीवन परियारले छलफल सकारात्मक रहेको बताउनुभयो । परियार बाहेक कांग्रेसबाट कार्यदलको बैठकमा ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी भएका थिए ।
कार्यदलको बैठक स्थगित गरेर परियार र कार्की दुवै संसदीय दलको कार्यालयमा गएका छन् । उनीहरूसँग कांग्रेसका महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतले छलफल गर्दैछन् । नेताहरूका अनुसार कार्यदलको बैठक २० मिनेटका लागि स्थगित भएको हो ।उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास भएको नेताहरुले बताएका छन् । सोही विषयमा दलहरू सहमति नजिक पुगेका हुन् ।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि छलफल सकारात्मक रहेको र केही कुरा मिल्न बाँकी रहेको बताउनु भएको छ ।