जसपाका स्वास्थ्य मन्त्रीमा यादव र राज्यमन्त्रीमा खानले शपथ लिए
काठमाडौं । नवगठित जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त हुनुभएको छ ।
सोमबार नै मन्त्रीमा नियुक्त भएका यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा एक समारोहकाबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । गत आइतबार दर्ता भएको अशोक राई नेतृत्वको जसपाबाट सोमबार एक जना मन्त्री र अर्का एक जना राज्यमन्त्री थपिएका छन् ।
स्वास्थ्यमन्त्री बन्नुभएका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको हो । राई नेतृत्वको नयाँ जसपातिर खुलेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीलाई पार्टीले यथावत राखेको छ । जसपा नेपालको उपेन्द्र यादव पक्षमा खुलेका दीपक कार्कीले पनि सोमबार राजीनामा दिएपछि उहाँको स्थानमा जसपाले हसिना खातुनलाई पठाएको हो । उहाँ एक महिनाअघि मात्रै जसपा नेपालकी समानुपातिक सांसद हुनुभएको छ ।
समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त कोटामा बाँकेकी हसिना खानले मौका प्राप्त गर्नुभएको हो । उहाँलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको थियो । खातुनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । गत फागुन २१ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रसहितको गठबन्धन बनेपछि वन मन्त्रालयको जिम्मेवारी पाएका सुडी कायमै रहनुभएको हो ।
जसपा नेपाल विभाजित भएपछि सुडी अध्यक्ष यादवलाई छोडेर राई नेतृत्वको नयाँ जसपामा रहनुभएको छ । जसपा नेपाल विभाजित हुँदा शुरुमा राई समूहमा बसेका कार्की यादवतिरै बसेपछि सोमबार सरकारबाट बिदा हुनुभएको हो।