अवैध रूपमा डुंगामार्फत समुद्री मार्गबाट १० हजार बढी आप्रवासी बेलायतमा पुगे
एजेन्सी । सन् २०२४ को पहिलो ५ महिनासम्ममा १० हजार भन्दा बढी अनियमित आप्रवासीहरू साना डुंगामार्फत समुद्र पार गरेर बेलायत पुगेका बेलायतको सरकारी तथ्यांकले देखाएको छ ।
कन्जरभेटिभ पार्टीका नेता तथा प्रधानमन्त्री ऋषि सुनकले संसदीय निर्वाचनको क्रममा सीमामा अवैध बाटोबाट आवतजावत रोक्ने बाचा गर्नुभएको हो । सरकारी अधिकारीका अनुसार शुक्रबार २ सय ८८ जना आप्रवासी शरणार्थीहरू ५ वटा डुंगामा अवैध बाटोबाट बेलायत छिरेका थिए ।
बेलायत आन्तरिक मन्त्रालयको तथ्यांक अनुसार सन् २०२४ सम्म समुद्री बाटो भएर अवैध रूपमा बेलायतको विभिन्न भू-भागमा प्रवेश गर्ने व्यक्तिको संख्या १० हजार १ सय ७० पुगेको छ । यो संख्या गत वर्षको यहि अवधिमा रेकर्ड गरिएको संख्याको तुलनामा ३५ प्रतिशतले बढी हो ।
सन् २०२४ को पहिलो ५ महिनामा समुद्री मार्गबाट बेलायत आउने कागजविहीन आप्रवासीको संख्या यसअघिको तुलनामा उच्च रहेको थियो । प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ तारिखको लागि आम निर्वाचनको आह्वान गर्नुभएको हो । आप्रवासी समस्या यो निर्वाचन अघि नै ठूलो मुद्दाको रूपमा देखिएको छ ।
मुख्य विपक्षी लेबर पार्टीले हजारौं शरणार्थीहरूलाई जबरजस्ती रुवान्डामा निर्वासित गर्ने प्रमुख योजना मतदानको दिन अघि शुरु नहुने र यो विवादास्पद योजना खारेज गर्ने प्रतिवद्धता गरेको छ । पार्टीले आप्रवासीको स्तर धेरै उच्च रहेको बताउँदै सानो डुंगामा अवैध बाटोबाट यात्रा गरी लाभ उठाउने तस्कर तथा अन्य गिरोहहरूमाथि कारबाही गर्ने बताएको छ ।
शनिबार जारी गरिएको ‘युगोभ पोल’ले केयर स्टार्मरको नेतृत्वमा रहेको टोरी समूहमा २२ अंकको अग्रता दिएको छ । युगोभ एक विश्वव्यापी जनमत सर्भेक्षण र तथ्यांक विश्लेषण गर्ने ख्यातिप्राप्त कम्पनी हो ।