पृथ्वी राजमार्ग अन्तर्गत रानीटारी-घुम्ती मार्ग आजदेखि पूर्णरूपमा बन्द
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड १६ दिनसम्मका लागि बन्द हुने भएको छ ।
सडक स्तरोन्नतिको काम भइरहेकाले आइतबारदेखि यहि जेठ २१ गतेसम्मका लागि सडक पूर्ण रूपमा बन्द गरिएको हो । रानीटारीबाट हर्षपुरसम्मको बाटो बन्द गरिएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर मुकेशकुमार यादवले जानकारी दिनुभएको छ ।
व्यास नगरपालिका–५ को रानीटारी, म्याग्दे गाउँपालिकाको वडा नम्बर ३ र ७ मा धमाधम सडक स्तरोन्नति भइरहेको जानकारी दिंदै उहाँले वैकल्पिक मार्ग अपनाउन सवारी चालक तथा यात्रीलाई अनुरोध गर्नुभयो । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका हुँदै राजमार्गको घुम्ती जोड्ने ९ दशमलव ४ सय ५२ किलोमिटर मार्गमा पानी निकासको नालासहित सडक विस्तारको काम जारी रहेको छ ।
कुल १ हजार ९ सय ५० मिटर ढलान गर्नुपर्ने सडकखण्डको १ हजार ६ सय मिटर काम पूरा भएको हो । ९ किलोमिटर लामो नालाको काम पनि प्रायः पूरा भएको सबइन्जिनियर यादवले बताउनुभयो ।