कांग्रेसको व्यक्ति लक्षित संसदीय छानबिन समितिको माग सम्भव छैन: प्रमुख सचेतक बर्तौला
काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले व्यक्ति विशेष संसदीय समितिको माग गरेको भन्दै संसदीय छानबिन समिति बनाउने कुरा असम्भव रहेको बताउनुभएको छ ।
मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रमुख सचेतक बर्तौलाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई मात्रै लक्षित गरी कांग्रेसको संसदीय छानबिन समितिको माग गर्ने कुरा सम्भव नरहेको बताउनुभयो । समग्र सहकारी पीडितले न्याय पाउनुपर्छ भन्ने कुरामा संसदीय छानबिन समिति बनाउन कुनै असहमति नरहेको उहाँको भनाइ छ ।
प्रमुख सचेतक बर्तौलाले निषेध गर्ने तरिकाबाट प्रस्तुत हुने कुरा राम्रो नहुने बताउनुभयो । बैठकले आगामी संसदको बैठकका बारेमा छलफल भएको र पहिलो दिन सबै राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने गरी व्यवस्थित बनाउने बारेमा छलफल भएको पनि उहाँले बताउनुभएको छ ।
गृहमन्त्री लामिछानेमाथि लागेको आरोपको बारेमा संसदमा एमालेले सत्य तथ्य जान्न र सुन्न चाहेको प्रमुख सचेतक बर्तौलाले बताउनुभयो ।