भारतका प्रधानमन्त्री मोदीविरूद्ध उम्मेदवारी दिएका हास्यकलाकार रंगीलाको मनोनयन खारेज
एजेन्सी । निर्वाचन आयोगले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध उम्मेदवारको मनोनयन दर्ता गरेका हास्यकलाकार तथा मिमिक्री कलाकार श्याम रंगीलाको उम्मेदवार खारेज गरेको छ ।
आयोगले रंगीलाको मनोनयन दर्ताको प्रक्रिया नपुगेको भन्दै उम्मेदवारी दर्ता खारेज गरेको हो । भारतीय संचार माध्यमहरूले रंगीलाको उम्मेदवारी अस्वीकृत भएको जनाएका छन् । उम्मेदवारी खारेज भएपछि रंगीलाले उम्मेदवारीको क्रममा आफूले शपथ फर्म पूरा नगरेको भन्दै उम्मेदवारी खारेज गरिएको बताएका हुन् ।
यद्यपि, उनले आफू पहिलो पटक चुनाव लडेको र सम्पूर्ण प्रक्रियाअनुसारका कागजात बुझाएको पनि दावी गरेका छन् । रंगीलाले आफ्नो उम्मेदवारी दर्ता गर्ने क्रममा पनि आयोगले सहयोग नगरेको र एक दिनपछि मात्र मनोनयन दर्ताको फर्म बुझेको आरोप लगाएका हुन् ।