एमालेका अध्यक्ष ओलीको सत्तारोहणसँगै फर्कियो नीति तथा कार्यक्रममा ‘समृद्ध नेपाल सुखी नेपाली’
काठमाडौं । आगामी वर्षका लागि सरकारको नीति तथा कार्यक्रममा मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ फर्किएको छ ।
तत्कालीन प्रधानमन्त्री ओलीले २०७५ सालमा नेपालको दीर्घकालीन सोच, २१०० (सन् २०४३) जारी गर्दै आफूले लगाउँदै आएको ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा मुलुकको योजनाभित्र समेटेका थिए । तर २ पटक संसद विघटन हुँदै एमाले प्रतिपक्षी बेञ्चमा थन्किएपछि पछिल्ला सरकारहरूले राज्यका सार्वजनिक नीतिमा उहाँको नारालाई समावेश गर्न छोडेका हुन् ।
२०७९ साल फागुन १२ गते प्रधनमन्त्री दाहालले एमालेसँगको गठबन्धन भत्काएर नेपाली कांग्रेसको सहयोगमा सरकारको नेतृत्व गरेपछि २०८० साल जेठ १ मा नीति तथा कार्यक्रम संसदमा पेश गरेका थिए । सोही दस्तावेजमा प्रतिनिधि तथा प्रदेश सभामा निर्वाचित हुने सदस्यलाई बधाई दिंदै ‘समृद्ध र समतामूलक नेपाल निर्माणको संकल्प’ पूरा गर्न कार्यकाल सफलताको कामना गरिएको थियो ।
तर प्रधानमन्त्री दाहालले २०८० साल फागुन २१ गते कांग्रेससँगको गठबन्धन भत्काएर पुनः एमालेसँग सत्ता साझेदारी गरेपछि तत्कालीन प्रधानमन्त्री ओलीले अघि सारेका ‘समृद्ध नेपाल सुखी नेपाली’ नारा सरकारको नीति तथा कार्यक्रममा समावेश भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दिउँसो वाचन गरिरहेका नीति तथा कार्यक्रममा ‘वर्तमान सरकार देशमा समाजवाद उन्मुख आर्थिक सामाजिक रूपान्तरणका लागि राजनीतिक स्थायित्व, सुशासन, विकास र सामाजिक न्यायसहित समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रतिवद्ध छ भनेर लेखिएको हो ।