आगामी वर्षको बजेटमा कृषिलाई उच्च प्राथमिकता दिन्छु: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रम अनुरूप आगामी वर्षको बजेटमा कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिने तयारी रहेको बताउनुभएको छ ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाद्वारा बिहीबार आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिन सक्ने बताउनुभयो । नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको समेत उहाँले स्पष्ट पार्नुभएको छ ।
अघिल्लो महिना मात्रै तेस्रो लगानी सम्मेलन उत्साहजनक रूपमा सम्पन्न गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहाले उक्त सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिनुभयो ।
सोही पालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै उहाँले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताउनुभएको छ ।
सोही क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखे, बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को मार्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं उपत्यकाबाट नजिकको दूरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताउनुभएको छ ।
सोही क्षेत्रमा पर्यटकहरूको बसाई लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने उहाँले विश्वास व्यक्त गर्नुभएको हो ।
सोही क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताउनुभयो ।