सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिंदै
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले बिहीबार विश्वासको मत लिनु हुने भएको छ ।
विश्वासको मत प्रयोजनका लागि बिहीबार बिहान सवाँ १० बजे प्रदेशसभाको बैठक आह्वान गरिएको हो । प्रदेश सभा सचिवालयले यसअघि गत वैशाख २१ र २२ गते २ पटक विश्वासको मत लिन बैठक बोलाएको थियो ।
तर सत्तारुढ दलको प्रमुख घटक नेकपा एमालेले मुख्यमन्त्रीले हतार गरेका कारण तत्काल विश्वासको मत दिन नसकिने अडान लिएपछि प्रदेश सभाको बैठक नबसेरै स्थगित भएको थियो । अहिले भने एमालेले सोडारीलाई विश्वासको मत दिने भएको हो ।
तर सरकारमा भने सहभागी नहुने एमालेले जनाएको छ । एकीकृत समाजवादी पार्टीसहित एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी रञ्जिता श्रेष्ठ पक्षको समर्थनमा सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो ।
५३ सदीस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक जना स्वतन्त्र सांसद रहेका छन् ।