एमालेका अध्यक्ष ओली मदन-आश्रितलाई सम्झिंदै भन्छन्: 'दासढुंगा घटना प्रकरण निक्कै रहस्यपूर्ण थियो'
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको काममा अब पर्खने समय नभएको बताउनुभएको छ ।
बिहीबार पार्टीले बल्खुमा आयोजना गरेको मदन–आश्रित स्मृति दिवस कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । दुनियाँ धेरै अघि बढेकोले अब पनि नेपाल-नेपालीलाई विकास र समृद्धिको लागि पर्खने समय नभएको उहाँको तर्क छ । उहाँले समाजवादी आन्दोलनलाई एकता र अनुशासित ढंगले अघि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । समाजवादी आन्दोलनलाई सही हिसाबले अघि बढाउनु पर्ने उहाँले बताउनुभएको छ । यसो गर्न सक्दा मात्र गन्तव्यमा पुग्न सकिने उहाँले प्रष्ट पार्नुभएको हो ।
अहिले देशमा देशको हितको पक्षमा उभिएर लड्ने र निर्देशित ढंगले स्वार्थ केन्द्रित रहेर चल्ने २ वटा शक्ति रहेको उहाँले बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी जनतामा आधारित सचेत संगठन भएको उहाँले प्रष्ट पार्नुभयो। नेकपाले सदैव राष्ट्रिय शक्तिको रूपमा भूमिका खेल्दै आएको उहाँको भनाइ छ । देशको स्वाधीनता, स्वाभिमान, अखण्डता, राष्ट्रिय हित, सुशासन र नयाँ विकास अभियानका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उहाँले बताउनुभयो ।
त्यसैको लागि एमालले मिसन २०८४ भनेको उहाँले प्रष्ट पार्नुभएको छ । जनताको बहुदलीय जनवाद भनेकै समृद्ध नेपाल, सुखी नेपाली भएको उहाँले बताउनुभयो । परिवर्तनका विभिन्न चरण पार गर्दै समृद्ध नेपाल, सुखी नेपालीसम्म पुग्न सकिने उहाँको तर्क छ । विश्वमा हिंसा अन्त्य गरी शान्ति स्थापनको लागि योगदान दिनु अब नेपालको दायित्व भएको उहाँले बताउनुभयो ।
अहिलेको युगमा युद्ध, हिंसा र हत्या अशोभनीय तथा मानवता विरुद्धको काम भएको उहाँले स्पष्ट पार्नुभएको हो । एमालेविरुद्ध एकपछि अर्को पासो थापेर हमला गरे पनि सबै मोर्चा र पासोलाई परास्त गरेको उहाँले बताउनुभयो । अब एमाले सुदृढ विजयको दिशामा अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभएको छ ।
दासढुंगा घटना रहस्यपूर्ण:
एमाले अध्यक्ष ओलीले २०५० साल जेठ ३ गते मदन–आश्रित चढेको जीप चितवनको दासढुंगामा दुर्घटना भएको घटना निक्कै रहस्यपूर्ण रहेको बताउनुभएको छ । नेपाली कांग्रेसका पुराना नेता उमेश गिरीले सार्वजनिक गरेका प्रसंगले पनि उक्त घटना रहस्यमय भएको उहाँले बताउनुभयो ।
उहाँले मदन–आश्रितको निधनले आन्दोलन नै विचलित हुने अवस्था आएको भए पनि प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको दर्शनले पार्टीलाई दिशानिर्देश गरेको प्रष्ट पार्नुभएको हो । मदन भण्डारीले ४१ वर्षकै उमेरमा विश्वलाई चकित पार्ने गरी असाधारण प्रतिभा देखाएको उहाँले बताउनुभयो ।
भण्डारी प्रष्ट दृष्टिकोण र अडान भएको नेता भएको उहाँको भनाइ छ ।