आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा कुनै अवरोध हुँदैन: प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रस्तुत हुने दावी गर्नुभएको छ ।
आगामी जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको हो । तर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेको छ ।
सोही समयमा प्रधानमन्त्री दाहालले आइतबार बिहान कांग्रेस नेतृत्वसँग गम्भीरतापूर्वक छलफल गरेको र सोमबार साँझसम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कांग्रेससँग सहमतिको ढोका खोल्नका लागि आफूले गम्भीरतापूर्वक छलफल गरेको पनि स्पष्ट पार्नुभएको छ ।आइतबार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले कांग्रेससँग सोमबार सोमबार साँझसम्म छलफलबाट निष्कर्ष निकाल्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,-‘मैले त्यही ढोका खोल्नकै लागि गम्भीरतापूर्वक नै आइतबार प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास भएको र सोमबार साँझसम्म हामी एउटा निष्कर्ष निकालेर नीति तथा कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।’
यता, प्रधानमन्त्रीसँगको भेटपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको बताउनुभएको हो ।