भारत र बंगलादेशमा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको संख्या ६५ जना पुग्यो
एजेन्सी । बंगलादेश र भारतमा भारी वर्षा र आँधीबेहरीसहित आएको शक्तिशाली चक्रवातमा परी मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ ।
बुधबार दुवै देशका स्थानीय अधिकारीहरू र सञ्चार माध्यमका अनुसार चक्रवातमा परी ६५ जनाको मृत्यु भएको हो । आइतबार साँझ भीषण वर्षा र आँधीबेहरीसहित आएको चक्रवात रेमलले विस्तारै भित्री भागमा सर्दै बाढीपहिरो निम्त्याएको हो ।
बंगलादेश मौसम विज्ञान विभागका निर्देशक अजिजुर रहमानले चक्रवात र भारी वर्षाको कारण जलवायु परिवर्तनको असर भएको र यो ‘देशको इतिहासमा सबैभन्दा लामो मध्ये एक’ भएको बताएका छन् ।
विपद व्यवस्थापन कार्यालय र प्रहरीका अनुसार चक्रवातको चपेटामा परेको बंगलादेशमा करिब १७ जनाको मृत्यु भएको छ । कसैको डुबेर र कसैको भग्नावशेष, रूखहरू खस्दा वा बिजुलीका तारहरू खस्दा बिजुलीको झटकाका कारण मृत्यु भएको हो ।
भारतमा २१ जनाको मृत्यु भएको अघिल्लो संख्या अद्यावधिक गर्दै ४७ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उत्तरपूर्वी मिजोरम राज्यमा चक्रवातमा परी अधिकांश २८ जनाको मृत्यु भएको हो । जसमध्ये मंगलबार आएको आँधीका कारण परेको खानीमा पुरिएर १४ जना कामदारको मृत्यु भएको मिजोराम सरकारले एक विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।
पश्चिम बंगाल राज्यमा १० जनाको मृत्यु भएको वरिष्ठ सरकारी अधिकारी सुमित गुप्ताले बुधबार बताएका हुन् । हिन्दुस्तान टाइम्सले उद्धृत गरेको रिपोर्टका अनुसार असम, नागाल्यान्ड र मेघालय राज्यमा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
चक्रवातले प्रत्येक वर्ष बंगलादेश र भारतमा ठूलो क्षति पुर्याउने गरेको छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनले थप आँधीबेहरीलाई बढावा दिइरहेको बताएका हुन् । यद्यपि राम्रो पूर्वानुमान र प्रभावकारी निकासी योजनाले मृत्युको संख्या भने कम देखिएको छ ।