संसदीय छानबिन समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठक आज बस्दै
काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) तयार गर्न गठित कार्यदलको बैठक मंगलबार बस्ने भएको छ ।
सोही बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बस्ने भएको हो । गत शनिबार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरेता पनि क्षेत्राधिकारका विषयमा कुरा नमिल्दा बैठक विनानिष्कर्ष टुंगिएको थियो ।
संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । नेपाली कांग्रेसले समिति बनाउँदा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको हो । सत्ता गठबन्धनका दल भने सोही कुरामा असहमत भएका छन् ।
गत शनिबार बसेको शीर्ष नेताहरुको बैठकले संसदीय छानबिन समिति बनाउने सहमति गर्दै त्यसको कार्यादेश टुंगो लगाउन कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा कांग्रेसका जीवन परियार, नेकपा एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेका छन् ।
सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद बैठक अवरुद्ध गर्दै आएको हो ।