संघीय संसदका ४ वटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसदका ४ वटा संसदीय समितिको बैठक शुक्रबार बस्ने भएको छ ।
महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक शुक्रबार बस्ने भएको हो।
महिला तथा सामाजिक मामिला समितिको बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको छ। बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानून, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसंख्या तथा वृद्धाश्रम र ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विपद व्यवस्थापन सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद जोखिम न्यूनीकरणका लागि तयारी तथा भावी कार्ययोजनाको बारेमा छलफल हुने भएको हो ।
त्यस्तै, बैठकमा विपद व्यवस्थापन सम्बन्धमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, तयारी र भावी कार्ययोजनाको बारेमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको छ।
साथै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने भएको हो । अर्थमन्त्री वर्षमान पुनलाई बोलाइएको बैठकको कार्यसूची आगामी बजेट २०८१/०८२ का सम्बन्धमा पूर्वबजेट छलफल र विविध विषय रहेको छ।
त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि शुक्रबार बस्ने भएको हो । शुक्रबार दिउँसो २ बजे बस्ने बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।