प्रधानमन्त्री दाहालले चौथो पटक पनि विश्वासको मत प्राप्त गरे
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक पनि विश्वासको मत प्राप्त गर्नुभएको छ।
प्रतिनिधि सभामा सोमबार भएको मतदानका क्रममा प्रधानमन्त्री दाहालको पक्षमा १ सय ५७ मत परेको हो । विपक्षमा शून्य र तटस्थमा १ मत परेको हो । बैठकमा सोमबार १ सय ५८ जना सांसदहरु उपस्थित भएका सभामुख देवराज घिमिरे बताउनुभएको छ ।
गत वैशाख २३ गते जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएपछि उहाँले सोमबार चौथो पटक विश्वासको मत लिनु परेको हो । प्रधानमन्त्री दाहालले गत वैशाख ३१ गते नै संसद्बाट विश्वासको मत लिने जानकारी संघीय संसद सचिवालयलाई दिनुभएको थियो ।
प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिनुभएको हो । प्रधानमन्त्री दाहालले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
जसपा नेपालले २०८१ साल वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा (२) बमोजिम गठन भएको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । २०७९ साल पुस १० गते उहाँ प्रधानमन्त्री बन्नुभएको थियो । सोही कार्यकालमा उहाँले चौथो पटक विश्वासको मत लिनुभएको हो।
उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल वैशाख २३ गते विभाजित भएको थियो । जसपाका नेता अशोक राईले ७ जना सांसदसहित नयाँ दल बनाएपछिको अवस्थामा प्रधानमन्त्री दाहालले सोमबार विश्वासको मत लिनुभयो ।