प्रधानमन्त्री दाहालले आज चौथो पटक विश्वासको मत लिंदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान विश्वासको मत लिनुहुने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार बिहान ११ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिनुहुने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको हो । जनता समाजवादी पार्टी (जसपा) नेपाल सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले विश्वासको मत लिनु परेको हो । जसपा नेपाल गत वैशाख ३१ गते सरकारबाट बाहिरिएको थियो ।
सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । संविधानको धारा १०० को उपधारा २ को व्यवस्था अनुसार प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत माग्न लाग्नुभएको हो । प्रधानमन्त्री दाहालले यो चौथो पटक विश्वासको मत लिन लाग्नु भएको छ । प्रधानमन्त्री दाहालले विश्वासको मत लिने बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले सोमबार बिहान १० बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको हो ।
उता नेपाली कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेको सहकारीकको रकम हिनामिना गरेको प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नकाा लागि सरकारलाई दवाव दिंदै आएको छ । सोही प्रकरणमा छानबिन समिति गठन नहुँदासम्म सदन अवरोध गर्ने अडानमा कांग्रेस रहेको हो ।
त्यस्तै, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री दाहालले प्रतिनिधि सभाबाट लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । जसपा छाडेका ७ जना सांसदलाई विश्वासको मत दिनबाट रोक्न माग गर्दै उहाँले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
आफ्नो दल छोडेका सांसदले प्रतिनिधिसभा सदस्यको पद गुमाइसकेको दावी गर्दै उनीहरुको मतबाट प्रधानमन्त्री दाहालले विश्वासको मत पाएमा बदर हुने उहाँको भनाइ छ । अध्यक्ष यादवको रिटमाथि सर्वोच्चले सोमबारका लागि नै पेशी तोकिदिएको हो ।