कोशी प्रदेशमा सांसदलाई विराटनगर नछोड्न एमाले र माओवादीको निर्देशन, प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्ने
काठमाडौं । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि रस्साकस्सी चलिरहँदा २ वटा ठूला दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सांसदहरूलाई राजधानी सहर विराटनगर नछोड्न निर्देशन दिएका छन्।
एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बुधबार नयाँ सरकार गठन प्रक्रियाले गति लिएकाले दुवै दलका सांसदहरूलाई विराटनगर नछोड्न भनिएको बताउनुभएको हो । प्रदेश प्रमुख परशुराम खापुङले बुधबार नै नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्ने बताउँदै दुवै दलले विराटनगरबाहिर रहेका सांसदहरूलाई पनि तत्काल आउन भनेका छन् ।
यदि नयाँ सरकारका लागि प्रदेश प्रमुखले आह्वान गरेको अवस्थामा दुवै दलले बहुमत सांसद उपस्थित गराउने गरी निर्देशन दिएका हुन् । कोशीमा एमालेका ४० र माओवादीका १३ जना सांसद रहेका छन् । यहाँ केन्द्रको भागबण्डा अनुसार एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री हुने लाइनमा रहनुभएको हो ।
वर्तमान मुख्यमन्त्री केदार कार्कीले विश्वास मत नलिने र पदबाट राजीनामा पनि नदिने अडान लिनुभएको हो । उहाँले बुधबार मात्रै आगामी जेठ ११ गते बस्ने गरी प्रदेश सभा आह्वान गरिसक्नुभएको छ ।
कार्कीले पद नछोड्ने अडान लिइरहँदा प्रदेश प्रमुख खापुङले उहाँलाई कामचलाउमा परिणत गरेर नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नु हुने भएको हो । एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्की संविधानत:अल्पमतमा परिसक्नुभएको छ ।