गृहमन्त्री लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाण सरकारसँगै रहेको महामन्त्री थापाको दावी
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैंसँग रहेको दावी गर्नुभएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो । गृहमन्त्री लामिछानेले सहकारीमा गरेको गठीको यथेष्ट तथ्य र प्रमाणहरु सरकारी अड्डाहरुसँगै रहेको उहाँको दावी छ ।
जिवि राईसँग मिलेर गृहमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम र स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडिया लगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गरेकोमा कुनै पनि दुविधा नभएको उहाँको भनाइ थियो ।
महामन्त्री थापाले तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरु, सीआईबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पत्ति शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई बुझाएको हस्ताक्षर-ल्याप्चे लगायतको यसको परीक्षण नै प्रयाप्त हुने दोहोर्याउनुभयो ।
सहकारी ठगी प्रकरणको विषयलाई खेलाँची नगरी गम्भीरतापूर्वक लिन र वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सरकारलाई उहाँले सचेत गराउनुभएको छ । सरकारले सहकारी वचतकर्ताहरुको रकम फिर्ता गराउने काममा सरकार गम्भीर नभए समाजमा अप्रिय घटना हुन नसक्नेतर्फ पनि महामन्त्री थापाले सरकारको ध्यानाकर्षण गराउनुभयो ।