गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी विरूद्धको रिटको आज पेशी
काठमाडौं । गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पेशी आज (बिहीबार)का लागि तोकिएको छ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले प्राप्त गरेको विश्वासको मतको विषयमा नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको थियो । अधिकारीले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको थियो ।
यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो । सभामुख समेत रहनुभएका कृष्ण धिताल समेतलाई गणना गरेर नयाँ सरकारको दावी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।