एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी
काठमाडौं । नेकपा एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी हुनुभएको छ ।
मंगलबार राति सम्पन्न भएको अन्तिम मतपरिणाम अनुसार कँडेल २ सय ९२ मत प्राप्त गरेर अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २ सय ४ मत प्राप्त गरेको निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल र उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन् । अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र ५ सदस्यीय लेखा कमिटी निर्वाचित गरेको हो ।
५ सय ८५ मतदाता मध्ये ५ सय ६० जनाले मतदान गरेका थिए ।