इजरायलले रफाह नजिकैको एक शरणार्थी शिविरमा आक्रमण गर्दा दर्जनौंको मृत्यु, थुप्रै घाइते
एजेन्सी । इजलायलले गाजाको रफाह नजिकैको एक शरणार्थी शिविरमा आक्रमण गरेको छ ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शिविरमा भएको विस्फोटमा दर्जनौं मानिसको मृत्यु भएको बीबीसीले उल्लेख गरेको हो । सोही घटनामा दर्जनौं मानिसहरु घाइते भएका छन् । मृत्यु हुनेमा महिला र बालबालिका धेरै रहेका हुन् ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले उक्त क्षेत्रमा हमासको कम्पाउण्डलाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ। सोही घटनाको समीक्षा भइरहेको छ । अघिल्लो दिन हमासले रफाहबाट तेल अवीवतर्फ ८ वटा रकेट प्रहार गरेको थियो । जुन जनवरीयताको पहिलो लामो दूरीको आक्रमण हो। दक्षिणी गाजा पट्टीबाट प्राप्त भिडियोहरूमा ठूलो विस्फोट र आगो लागेको देखिएको छ ।
विस्थापित प्यालेस्टाइनीहरू रहेको रफाहको उत्तर–पश्चिमस्थित शिविरमा इजरायले आक्रमण गरेको हमासले जनाएको हो। संयुक्त राष्ट्रसंघले आक्रमण शुरु भएदेखि नै रफाहबाट ८ लाख भन्दा बढी प्यालेस्टाइनीहरू विस्थापित भएको जनाएको छ । गाजाको अन्य क्षेत्रबाट रफाहमा करिब १५ लाख मानिसले आश्रय लिएका थिए ।
गत अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले अकस्मात आक्रमण गर्दा करिब १२ सय इजरायली नागरिक मारिएका थिए । त्यसपछि इजरायलले गरेको जवाफी आक्रमणमा करिब ३६ हजार म्यालेस्टाइनीको मृत्यु भएको हो ।