भारतको १० वटा राज्यमा ९६ सिटका लागि आज मतदान हुँदै
काठमाडौं । भारतको लोकसभाको ७ चरणमा हुन लागेको निर्वाचन अन्तर्गत सोमबार चौथो चरणको मतदान हुँदैछ।
चौथो चरणमा सोमबार १० वटा राज्यमा ९६ सिटका लागि मतदान हुन लागेको हो। सोमबार भारतको आंध्र प्रदेश, बिहार, झारखण्ड, मध्य प्रदेश, महाराष्ट्र, ओडिशा, तेलंगाना, उत्तर प्रदेश, पश्चिम बंगाल र जम्मू कश्मिरका ९६ सिटमा मतदान हुन लागेको हो। सोमबार आंध्र प्रदेशका २५, बिहारका ५, झरखण्डका ४, मध्य प्रदेशका ८, महाराष्ट्रका ११, ओडिसाका ४, तेलंगानाका १७, उत्तर प्रदेशका १३, पश्चिम बंगलका ८ र जम्मू–कश्मिरका १ सिटमा मतदान हुन लागेको छ।
पाँचौ चरणको मतदान मे २० तारिखमा हुने भएको हो । पाँचौ चरणमा ८ राज्यको ४९ सिटका लागि मतदान हुने भएको छ। छत्तीसगढ़, झारखण्ड, महाराष्ट्र, ओडिशा, उत्तर प्रेदश, पश्चिम बंगाल, जम्मू कश्मीर र लद्दाखका पाँचौ चरणको मतदान गर्ने भारतीय निर्वाचन आयोगले तयारी गरेको हो । त्यस्तै, छैठौं चरणमा ७ राज्यका ५७ सिटका लागि मे २५ तारिखमा मतदान हुने भएको छ। बिहार, हरियाणा, झारखंड, ओडिशा, उत्तर प्रदेश, पश्चिम बंगाल र दिल्लीका ५७ सिटका लागि छैठौं चरणमा मतदान हुने भएको हो ।
अन्तिम तथा सातौं चरणको मतदान जुन १ मा सम्पन्न हुने भएको छ। बिहार, हिमाचल, झारखंड, ओडिशा, पंजाब, उत्तर प्रदेश, पश्चिम बंगाल र चंडीगढ़ गरेर ८ राज्यका ५७ सिटका लागि अन्तिम चरणमा मतदान हुने तालिका रहेको हो । गत अप्रिल १९, २६ र मे ७ तारिखमा गरेर ३ चरणको चुनाव सकिएको भारतमा अब ४ चरणको चुनाव हुन बाँकी रहेको छ ।
पहिलो चरणमा २१ राज्यका १ सय २ संसदीय सिट, दोस्रो चरणमा १३ राज्यका ८९ र तेस्रो चरणमा १२ राज्यको ९४ लोकसभा सिटका लागि मतदान भइसकेको हो। पहिलो चरणमा ६६ दशमलव १४, दोस्रो चरणमा ६६ दशमलव ७१ र तेस्रो चरणमा ६५ प्रतिशत मतदान भएको भारतीय निर्वाचन आयोगको तथ्यांकमा उल्लेख गरिएको छ।
पहिलोदेखि सातौं चरणसम्मका मतदान सम्पन्न भएपछि एकसाथ आगामी जुन ४ तारिखदेखि मतगणनाको काम शुरु हुने निर्वाचन आयोगले जनाएको हो ।