अफगानिस्तानमा भीषण बाढीका कारण ८० जना बढीको मृत्यु, सयौं मानिस घाइते
एजेन्सी । अफगानिस्तानमा लगातारको भारी वर्षापछि आएको भीषण बाढीका कारण जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
शनिबार दिउँसोसम्म बाढीका कारण ८० जना भन्दा बढी मानिसको मृत्यु भएको सत्तारुढ तालिवानले जानकारी दिएको हो । बाढीमा सयौं मानिसहरू घाइते भएका र हराइरहेको पनि जनाइएको छ । राजधानी काबुलस्थित संयुक्त राष्ट्र संघ कार्यालयले पनि बाढीका कारण भएको मानवीय हताहतीको बारेमा जानकारी दिइरहेको हो ।
बाढीबाट बगलान प्रान्तवासी बढी प्रभावित भएका छन् । बाढीमा फसेका सयौं मानिसहरूलाई तत्काल उद्दार गर्नुपर्ने स्थिति रहेको छ । अफगानिस्तानको गृह मन्त्रालयले बाढीपीडित उद्धार गर्न शुक्रबार राति हेलिकोप्टर पठाइएको तर जडित लाइटको क्षमताले उडान निरन्तरता दिन नसकेपछि फर्काइएको जनाएको हो ।
बगलानमा बाढीबाट २ हजार भन्दा बढी घर, ३ मस्जिद र ४ वटा विद्यालयमा निकै क्षति पुगेको छ । बाढीको जोखिमकै कारण तालिबान सरकारले उत्तरी अफगानिस्तानलाई काबुलसँग जोड्ने सडक बन्द गरिदिएको हो ।
बाढी प्रभावित परिवारलाई खाद्यान्न र लत्ताकपडा व्यवस्था गरेको तालिवानले जनाएको छ ।