सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ केन्द्रित भएको कांग्रेसको निष्कर्ष
/काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सरकार आफैं संसद पनि चल्न नदिने र संसदीय छानविन समिति बन्न नदिनेतर्फ केन्द्रित भएको निष्कर्ष निकालेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा शनिबार बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कांग्रेस नेताहरुले यस्तो निष्कर्ष निकालेका हुन् । बैठकले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आगामी वैशाख ३१ गते सोमबार दिउँसो १ बजे पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
सरकारले संसद पनि चल्न नदिने र गृहमन्त्री रवि लामिछानेमाथि छानविनका लागि संसदीय समिति पनि बन्न नदिने रवैया विरुद्ध कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न सोमबार पार्टी संसदीय दलको बैठक बोलाउने निर्णय गरिएको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । बैठकमा नेताहरुले गृहमन्त्री लामिछानेको सहकारी ठगी प्रकरणको लागि छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने अडान राखेका थिए ।
नेपाली कांग्रेसले शुक्रबार बसेको बैठकमा आफ्नो पार्टीलाई पेल्ने खालको भूमिका निर्वाह गरेको बताउदै सभामुख देवराज घिमिरेको समेत आलोचना गरेको छ ।