गृहमन्त्री लामिछानेलाई जीवि राईको बारेमा कुतर्क नगर्न प्रधानमन्त्री दाहालको आग्रह
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न सरकारी संस्थाका बचतकर्ताको करोडौं रुपैयाँ अपचलन गरेर फरार गितेन्द्रबाबु राई (जीवि) को बारेमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफूलाई जोडेर गरेको टिप्पणीलाई बेतुक र वाहियात भएको बताउनुभएको छ ।
आइतबार गृहजिल्ला चितवन पुग्नु भएका प्रधानमन्त्री दाहालले संचारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानेको उक्त तर्कलाई बेतुकको संज्ञा दिनुभएको हो । उहाँले भन्नुभयो,-'गृहमन्त्री लामिछानेको त्यो कुरा वाहियात हो । कुतर्क कसैले पनि गर्नुहुँदैन । जीवि राईलाई अघिल्लो सरकारले, प्रधानमन्त्रीले, गृहमन्त्रीले भगायो भन्नु बेतुकको तर्क हो ।’
उहाँले सहकारीका बचतकर्ताको रकम अपचलन गरेर फरार जीबीलाई पक्राउ गर्ने कुरामा सरकार प्रष्ट रहेको पनि बताउनुभएको छ । जीवि राइलाई पक्राउ गरेर ल्याउनु पर्छ भन्ने कुरामा आफू प्रष्ट रहेको उहाँले बताउनुभयो । राहदानीको इस्युले अलिकति समस्या भएको, त्यसलाई पनि हल गर्न खोजिएको र राईलाई ल्याउने कुरामा आफू प्रतिबद्ध रहेको उहाँको भनाइ थियो ।
गृहमन्त्री लामिछानेले आइतबार मात्रै चितवन आएर अघिल्लो सरकार र नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री दाहाल नै रहँदा जीवि राईलाई भगाएकोले पक्राउ गर्न समस्या भइरहेको दावी गर्नुभएको थियो । चितवनमा गृहमन्त्रीले बोलेको उक्त कुरालाई प्रधानमन्त्री दाहालले चितवनमै पुगेर वाहियात र कुतर्कको संज्ञा दिनुभएको हो ।
प्रधानमन्त्री दाहालले जीवि राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कुतर्क रहेको दोहोर्याउँदै कानूनी जटिलता हटाएर स्वदेश ल्याउन सरकारले पहल गरिरहेको पनि जानकारी गराउनुभएको छ । प्रधानमन्त्री दाहालले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुने समेत बताउनुभयो ।
त्यस्तै, उहाँले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरूलाई दिन खोज्दा कुरा बिग्रिएको बताउदै कांग्रेसले आफूलाई र आफूले कांग्रेसलाई नकारात्मक रुपमा लिनुपर्ने कुनै कारण नभएको बताउनुभयो । उहाँले आगामी जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा कुनै शंका नरहेको दावी गर्नुभएको छ ।