गृहमन्त्री लामिछानेमाथि छानविन समिति नबनेसम्म सदन चल्न नदिने कांग्रेसको चेतावनी
काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी ठगी प्रकरणको आरोप लागेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति नबनेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिनुभएको छ ।
संसद बैठक चल्न नदिने कुरामा आफू नभई सरकार र यसको कामकारबाही जिम्मेवार रहेको उहाँले दावी गर्नुभएको हो । शुक्रबार प्रतिनिधि सभा बैठकको शुरुमा बोल्दै महामन्त्री थापाले कांग्रेसले लगाएको आरोप गलत सावित गर्न उपप्रधान लामिछानेको सहकारी ठगी प्रकरण छानविन गर्न संसदीय समिति बनाउनुपर्ने आफूहरुको मागलाई इन्कार गरेको उहाँको भनाइ थियो ।
सरकार र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले पनि आफूहरुलाई हेप्न खोजेको भन्दै उहाँले आपत्ति समेत जनाउनुभएको हो। गृहमन्त्री लामिछानेले सहकारी ठगी गरेको प्रमाण रुपेन्द्रेही प्रहरीले त्यहाँको जिल्ला अदालतमा बुझाएको अनुसन्धान प्रतिवेदनमा स्पष्ट उल्लेख गरिएको उहाँले दावी समेत गर्नुभएको छ । सरकार र सत्तारुढ दलहरुकै नेतृत्वमा छानविन समिति बनाउने भएकाले त्यसमा डराउनुपर्ने कुनै कारण नभएको पनि उहाँले बताउनुभयो ।
महामन्त्री थापाले सोही प्रकरण ढाकछोपका लागि सरकारले महान्यायाधिवक्ताको कार्यालयको समेत दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।