कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई विश्वासको मत प्राप्त
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत प्राप्त गर्नुभएको छ ।
सोमबार कोशी प्रदेश सभा बैठकमा कार्कीले विश्वासको मत प्राप्त गर्नुभएको हो । प्रदेश सभामा सोमबार भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीको पक्षमा कुल ५७ मत परेको छ । कार्कीलाई नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादीका ३ र जनता समाजवादी पार्टी (जसपा)का १ जना प्रदेश सभा सदस्यले मत हालेका हुन् ।
विश्वासको मतका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने तटस्थ बसेको छ। राप्रपाका ६ जना प्रदेश सभा सदस्य रहेका छन् । उता २९ प्रदेश सभा सदस्य रहेको नेपाली कांग्रेसले भने प्रदेश सभा बैठक नै बहिष्कार गरेको हो। कुल ९३ सदस्य रहेको प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीलाई बहुमत ४७ मत आवश्यक थियो । मतदानमा ६२ प्रदेश सभा उपस्थित भएका थिए ।
कोशीमा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद रहेका छन्। कार्की संविधानको धारा १६८ उपधारा ५ अनुसार यहि वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई एमालेका ३९ र माओवादी केन्द्रका १३ सांसदको समर्थन रहेको हो ।
तर निवर्तमान मुख्यमन्त्री केदार कार्कीले मुख्यमन्त्री कार्कीको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । सोही रिटमा अदालतले अन्तरिम आदेश नदिए पनि आगामी जेठ ९ गते पूर्ण सुनुवाईका लागि पेशी तोकेको हो।