संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
काठमाडौं । संघीय संसदको बजेट अधिवेशन आज (शुक्रबार) देखि शुरु हुने भएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो २ बजेदेखि शुरु हुने भएको हो।शुक्रबार पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
यसैगरी सभामुख घिमिरेले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउनुहुने संसद सचिवालयले जनाएको हो । त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने भएका छन् । विगतमा बजेट अधिवेशनमा प्रि–बजेट छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमा नै छलफल पूरा भइसकेको हो ।
संसदमा अवरोध नहोस भनेर सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ राजनीतिक दलका शीर्ष नेतासँग गत मंगलबारको बैठक छलफल गर्नुभएको थियो । यद्यपि सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको नेपाली कांग्रेस लगायतका अन्य दलका नेताहरु आ–आफ्नै अडानमा बसेपछि बैठक निष्कर्ष विहीन भएको थियो ।
गत हिउँदे अधिवेशनमा पनि प्रमुख विपक्षी दल कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।